फोहोरको मारमा भूमिगत सेती नदी

बाँच्नका लागि चाहिने आधारभूत आवश्यकताहरूमध्ये पानी एक हो र यसको एक स्रोत नदी हो। मानव सभ्यताको विकास नदी किनारबाटै सुरु भएको इतिहास जगजाहेर नै छ। मेसोपोटामियाको सभ्यता, नाइल नदीको सभ्यता, सिन्धु घाँटीको सभ्यताले यसको पुष्टि गर्छन्। निरन्तर बगिरहने पानीप्रतिको आकर्षणकै कारण नदी वरिपरि आदिम मानवहरूले बस्ती बसाले होलान्। नत्र मानव सभ्यताको विकास नदी किनारमै सुरु हुनपर्ने कारण थिएन। स्थिर पानीका अपार भण्डार  समुद्र, ताल तलैयाहरू पनि प्रशस्तै थिए। अझ निरन्तर बगिरहने भन्दा स्थिर रहिरहने पानीका स्रोतहरू नै अत्यधिक थिए र छन्। तर पनि आदिम मानवले नदी किनार नै रोजे अर्थात बगेको पानी नै मन पराए। आधुनिक विश्वका धेरै सहरहरू पनि नदी किनारमै अवस्थित छन्। यसै आधारमा पोखराको विकासको सुरुवात पनि सेती नदीकै कारण भयो भन्दा अत्युक्ति नहोला। तथापि सेती अन्य नदीहरू जस्तो छैन, अर्थात पोखराभरि प्रायजसो भूमिगत छ। यो लेखमा सेती नदी प्रदूषणको मारमा पर्दै गएको विषय उठाउन खोजिएको छ।

[ पत्रिका कै स्वरूप मा पढ्नको लागि  तलको Photo मा click गर्नुहाेस्, फेरी click गर्नुभएपछी zoom ( प्रस्ट ) हुनेछ ]

Screenshot Aadarsha Samaaj (2)

राजधानी सहर काठमाडौंमा वाग्मती नदी साह्रै फोहोर भई ढलमा परिणत भएको हामी सबैले जानेबुझेको तथ्य हो। त्यसैले पछिल्लो समयमा त्यहाँ सफाइ अभियान सुरु पनि गरिएको छ। पोखरामा सेती नदी पनि प्रदूषणको चरम शिकार बनेको छ। महेन्द्रपुल तथा पृथ्वीचोकमा सेती नदीमा बनेका पुलबाट हेर्ने हो भने ढलको पानी नदीमा झरिरहेको र फोहोर यत्रतत्र छरिएको सजिलै देख्न सकिन्छ। काठमाडौँमा नदी फोहोर भयो भनेर मानिसहरू सरसफाइमा जुटिरहेका छन्। तर हामी पोखराबासी चाहिँ दिनानुदिन नदी फोहोर गरिरहेका छौँ। के भविष्यमा सफा गरौँला भनेर अहिले फोहोर गर्दै गर्दा हुन्छ भन्ने छ र ? फोहोर गर्न हुँदो रहेनछ भन्ने कुरामा सचेत भएर फोहोर नदीलाई अरूहरू सफा गर्दैछन् तर हामी चाहिँ त्यति धेरै फोहोर भइनसकेको नदीलाई फोहोर हुन नदिने उपायहरू किन अपनाइरहेका छैनौँ – यहाँ फोहोर हुनै नदिने कार्यको कुरा किन गरिएको हो भने यदि सेती वाग्मती जति त होइन त्यसको आधा बराबर प्रदूषित भयो भने पनि, वाग्मती सफाइमा खर्च हुने श्रम र रकमले सेतीको सफाइ सायद आधा जति मात्र सम्पन्न हुन सक्ला। नदीमाथि निर्माण भएका पुलहरूबाट हेर्दा प्रत्येक ठाउँमा फोहोर फालिएको र धेरैजसो ठाउँमा ढलको पानी झरिरहेको देखिन्छ। अनि भौगोलिक बनावट हेर्दा यस्तो लाग्छ- फोहोर फालिएको स्थानबाट, फोहोर त परैको कुरा, कुनै महत्त्वपूर्ण वस्तु नै खस्यो भने पनि निकाल्न असम्भव देखिन्छ।

थोरै बढ्दै गएर नै धेरै हुने हो। अहिले थोरै फोहोर देखिएला, तर त्यही स्थानमा फोहोर फाल्ने बानी परेकाहरूले लामो समयसम्म निरन्तर फोहोर फालिरहँदा प्रदूषणको मात्रा निश्चय नै बढ्दै जानेछ। वाग्मती र विष्णुमती पनि एकै चोटि त्यति धेरै फोहोर भएका होइनन्। र यति धेरै फोहोर होला भनेर विगतमा कसैले सोचेका पनि थिएनन् होला। चाइनापुल, महेन्द्रपुल, केआइ सिंह पुल मुनितिरका त सतहका फोहोर मात्र हुन् जुन त्यहाँबाट सेती हेर्ने प्रत्येक मानिसले देख्छ। कतिपय स्थान यस्ता छन् जहाँको फोहोर कि त फाल्ने व्यक्तिले देख्छ कि त कहाँकहाँ फोहोर भएको रहेछ भनेर खोज्ने व्यक्तिले मात्र देख्छ। अर्कातिर, यस्तो फोहोरका कारण सेतीको पानीमा प्रदूषण फैलिएको त नाङ्गो आँखाले मात्रै देख्न सकिने कुरै भएन। यसले पोखरा दक्षिणका सेती नदी वरपरका बस्तीमा समेत प्रदूषण फैलाएको छ। कतिपय साँघुरा खोंचहरूमा त फोहोर फालिए पनि अहिलेलाई देखिँदैन, तर जब फोहोरको मात्रा बढ्दै जान्छ, तब सेती जमिनमुनि बग्ने नदी होइन, फोहोरमुनि बग्ने नदी भनेर चिनिनेछ। त्यस्तो अवस्था त्यति चाँडै त नआउला। तर त्यो समय आउँदैन भनी ढुक्क भएर बस्ने संकेत कतै पनि देखिँदैन। त्यस्तो भइहाल्यो भने हाम्रो पर्यटकीय नगरीको हालत के होला, सोचिनु आवश्यक छ।

सफाइका लागि भविष्यमा ढल नै रोक्न पनि सकिएला, कुहिने फोहोरहरू कुहिएर केही समयपछि सकिएलान्, तर सिसा र प्लाष्टिकजस्ता फोहोरहरू न त कुहिन्छन् न त नदीले बगाएर लैजान नै सक्छ। बरु बाढी आएको समयमा देखिइरहेको ठाउँका प्लाष्टिकहरू बगेर झन् अप्ठ्यारा ठाउँहरूमा अडि्कएर बस्न सक्छन् जहाँबाट तिनलाई निकाल्न असहज त होइन, असम्भव नै हुन्छ। अनि भविष्यमा गएर, देखिने ठाउँको सफाइ जतिसुकै गरे पनि, ती अग्म्य स्थानमा अडि्कएका फोेहोरले लामो समयसम्म पनि पानीको गुणस्तरमा असर पारी नै रहनेछन्। पानीको गुणस्तरमा ह्रास आएपछि जलचर तथा उभयचर प्राणीहरूलाई समेत पर्ने असरको त कुरा गरिरहनै परेन।

फोहोर फाल्ने र थुप्रिने क्रमको गति त्यति तीब्र नै त लाग्दैन अहिलेलाई। तर थोरै बढ्दै गएर नै धेरै बन्ने हो। छ आठ वर्षमै अघि भनिएजस्तो फोहोरमुनि बग्ने नदी बन्ने छैन सेती। तर पनि दूरदर्शी बन्नु भने अत्यावश्यक छ। जतिसुकै समयपछि भए पनि, त्यस्तो फोहोर भयो भने उक्त समयका लागि त्यो एक प्रमुख समस्या नै हुनेछ। भविष्यमा, फोहोर भइसकेको देखेर सफाइ गर्ने जनचाहना भयो भने पनि प्रत्यक्ष जनसहभागिता असम्भव नै छ। भूमिगत ठाउँमा मात्र फोहोर हुन रोकेर पनि प्रदूषण रोकिदैन। भूमिगत हुन सुरु हुने स्थानभन्दा धेरै माथिदेखि नै पनि फोहोर बगेर आउँछ। तसर्थ नदीपुर, रामघाट आदिका त्यस्ता ठाउँहरू जहाँजहाँबाट सेती भूमिगत हुन्छ, त्यसको ठीक अगाडि ती फोहोर रोक्न विशेष संरचना निर्माण गरिनुपर्छ। पृथ्वीचोकको चाइनापुल वरपर विभिन्न होडिङ बोर्डहरू देखिन्छन् तर कुनैमा पनि “नदीमा फोहोर नफालौँ”, “सेती सफा राखौ” भनेर लेखेको देखिँदैन। पहिलो पटक सेती देख्ने कतिपयले त आफ्नै हातमा भएको चाउचाउ, बिस्कुटको खोललाई पोको पारेर वा हातमा जे छ त्यही नदीतिर फाल्दै तल पुग्न कति समय लाग्दो रहेछ भनेर ‘एक्सपेरिमेन्ट’ गरिरहेका हुन्छन्। सेती नदीलाई हेर्दै गर्दा, “नदीमा फोहोर नफालौँ” भनेर लेखेको पनि देखियो भने माथि उल्लेख गरिएका जस्ता हर्कतहरू घट्न जान्थे कि – तसर्थ धेरै मानिसले अवलोकन गर्ने ठाउँमा सचेतनामूलक सूचना पाटीहरू पनि राखिनुपर्छ। घारीपाटनको चचहुर्इ फनपार्क अगाडिको पुलमा फोहोर गर्नेलाई कारवाही र जरिवाना गरिने व्यहोराको थोत्रो बोर्ड हुँदाहुँदै पनि वरपर फोहोर नै देखिन्छ। त्यस्तै नदीपुरबाट फुलबारी तथा मणिपाल अस्पताल जाने बाटोको पुलमा “नदीमा फोहोर गर्नु पाप हो” लेखिएको सानो सूचना पाटी छ। यद्यपि त्यहाँ पनि केही फोहोर देखिन्छ नै। फोहोर गर्नेलाई पाप त लाग्छ कि लाग्दैन, थाहा छैन। तर त्यस्ता व्यक्तिलाई कारवाही र जरिवाना चाहिँ भएको सुनिएको छैन। फोहोर कम गराउने अभियानमा रेडियो, टेलिभिजन र पत्रपत्रिकको अद्भूत क्षमतालाई उपयोग गर्न सक्ने हो भने पनि धेरैलाई सचेत गराउन सकिन्छ, धेरै परिवर्तन गर्न सकिन्छ।

नदी किनारका बस्तीहरूबाट सजिलै फोहोर फाल्न सकिन्छ। तसर्थ त्यस्ता बस्तीमा नगरपालिकाले पनि फोहोर संकलन कार्य अन्य क्षेत्रको तुलनामा सघन बनाउनुर्छ। यी सबै कार्यहरू तालमेल मिलाएर गर्न हो भने सेती कत्ति पनि प्रदूषित बन्ने छैन र हाम्रा सन्ततिले समेत जन्मदै स्वच्छ सेती देख्न पाउने छन्। बाँकी कुरा के मात्र रहृयो भने, हामी पनि अन्यत्रजस्तै पहिला फोहोर गरिसकेर पछि खर्चिलो सफाइ अभियान चलाउने परम्परा पछ्याउने कि बेलैमा सचेत भएर सफाइ अभियान चलाउनुपर्ने अवस्थासम्म नपुग्ने भन्ने हो।

aacharyaaaditya@gmail.com

२०७१ पुस २९ गते आदर्श समाज दैनिक मा प्रकाशित : Click फोहोरको मारमा भूमिगत सेती नदी 

OR  फोहोरको मारमा भूमिगत सेती नदी Epaper  [Page-2 for epaper]

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s