अझै गरौँ ; अन्यत्र पनि गरौँ

केहि समयअगाडि यसै पत्रिकामार्फत फोहोरको मारमा भूमिगत सेती नदी शीर्षकको लेख प्रकाशीत भएको थियो जसमा सेती नदी फोहोरको चपेटामा पर्दै गइरहेको र त्यो क्रमलाई रोक्न अहिलेदेखिनै सचेतता अपनाइनुपर्ने कुरा उठाइएको थियो । सोही लेखमा, सेती हेर्न भनेर आउने पर्यटकहरुबाट हुने फोहोरलाई कम गर्न, ती ठाउँहरु जहाँ पर्यटकहरु सेती हेर्न भनेर पुग्छन्, मा सचेतनामुलक सूचना बोर्डहरु राख्न पनि सुझाइएको थियो किनकी त्यो बेलासम्म ती स्थानहरुमा त्यस्ता सूचनाहरु देखिँदैनथिए । केहि दिनअघि चाइनापुलबाट हिँड्दै गर्दा सेतीमा फोहोर नगर्न, र गरेको पाइएमा कारवाही तथा जरिवाना गरिने व्यहोराको एउटा नयाँ बोर्ड देखियो जुन देखेर असाध्यै खुसी लाग्यो । तर त्यो खुसी दीर्घकालीन भएन किनभने त्यही बोर्डको वरिपरि पनि केहि फोहोर छरिइरहेको थियो, अनि तल नदी हेर्दा देखिने पहिलेदेखिकै फोहोर यथावत नै थियो । अहिलेसम्म बुझ्न नसकिएको कुरा के हो भने – (यहाँमात्र होइन) प्रायजसो ठाउँमा, फोहोर गर्नेलाई जरिवाना र कारवाही गरिने व्यहोराको बोर्ड, सूचना सँगसँगै फोहोरको थुप्रो पनि देखिइरहेकै हुन्छ । त्यस्ता ठाउँहरुमा, कि त पहिला भइरहेको फोहोरलाई सफा नगरिकनै फोहोरको थुप्रोमाथि वा नजिकै लगेर सुचना, बोर्डहरु राखिन्छन् अथवा त्यस्ता बोर्डहरु राखिएपनि त्यहीँ फोहोर फाल्ने क्रम रोकिँदैन, किनकी त्यहाँ लेखिएजस्तो कारवाही तथा जरिवाना कसैलाई हुदैन । यहाँचाहीँ के आग्रह गर्न खोजिएको हो भने, फोहोर नगर्न सचेत गराउनुअघि कम्तीमा भइरहेको फोहोरलाई चाहीँ सफा गरिनुपर्थ्याे । एउटा सामान्य मान्छेले, फोहोर गरेमा जरिवाना र कारवाही हुने सूचनासँगसँगै फोहोरको थुप्रो पनि देख्यो भने, सजिलै आँकलन गर्न सक्छ कि त्यहाँ लेखिएअनुसारको कारवाही कसैलाई हुँदैन भनेर । यदि त्यस्तो हुन्थ्यो भने त्यहाँ कत्ति पनि फोहोर हुने थिएन । त्यस्तै अवस्था महेन्द्रपुलमा पनि देखियो । त्यहाँ त पुलको दुवै तर्फबाट, घरबाट निस्कीरहेको फोहोर पानीलाई समेत सिधै सेतीमा झारिरहेको देख्न सकिन्छ । अनि पुलको छेउमा फेरि उही जरिवाना र कारवाही हुने व्यहोराका बोर्डहरु त छँदै छन् । त्यसैले, यदि सेतीलाई साँच्चै सफा, स्वच्छ बनाउने हो भने अहिलेसम्म भएको थोरै फोहोरलाई हटाएर सुरु गराैँ भन्ने आग्रह हो ।

[ पत्रिका कै स्वरूप मा पढ्नको लागि  तलको Photo मा click गर्नुहाेस्, फेरी click गर्नुभएपछी zoom ( प्रस्ट ) हुनेछ ]

Final

राम्रो कामको थालनी भएको पक्कै हो जसको प्रशंसा गर्नैपर्छ । तर यति मात्र पर्याप्त छँदै छैन । सूचना बोर्डहरु अत्यन्त सानो आकारका छन् । महेन्द्रपुलको एउटा बोर्ड, राखिएको हप्तादिन पनि नपुग्दै च्यातिइसकेको छ । चाइनापुलमा जम्मा एउटा बोर्ड छ र पुलको अर्काे तर्फबाट हिँड्नेले उक्त सूचना नै देख्दैन । के. आइ. सिंह पुलमा भने अझैपनि त्यस्ता सूचना देखिँदैनन् । साँझको समयमा उक्त पुलनजिकै गएर एकछिन हेरेर बस्ने हो भने मानिसहरुले फोहोरका पोका ल्याएर नदीमा फाल्दै गरेका दृश्य सजिलै देख्न सकिँदो रहेछ । त्यस्ता सूचनाबोर्डहरु त्यहाँ पनि लगेर राखौँ । अनि सूचनाबोर्डहरुलाई यसरी राखाैँ कि सेती हेर्ने उत्सुकताका साथ आएको कुनैपनि व्यक्तिले पहिला त्यो सूचना देखोस् । व्यावसायीक विज्ञापनका ठूलाठूला बोर्डहरुचाहीँ सबैले सजिलै देख्ने तर फोहोर नगर्न आग्रह गरिएका बोर्डहरुचाहीँ खोज्दै हेर्नुपर्ने हुन भएन । एउटा निश्चित मापदण्ड बनाएर फोहोर हुने सबै ठाउँहरुमा एकैनासका बोर्डहरु राखौँ जसले गर्दा पर्यटकीय नगरीको सुन्दरतामा पनि कुनै कमी नआओस् । अनि ती बोर्डहरुमा पनि कारवाही र जरिवानाको चेतावनी भन्दा मानवीय संवेगलाई छुने खालका वाक्यांशहरु लेखियो भने बढी प्रभावकारी होला जस्तो लाग्छ । कसैकसैलाई चेतावनीकै आवश्यकता पनि पर्ला । सेतीमा फोहोर हुने दुईओटा श्रोतहरु देखिन्छन् । एक, सेती हेर्न भनेर आउने पर्यटकहरुबाट र दुई, स्थानीय मानिसहरुबाट । पर्यटकहरुलाई माथिको तरिका उपयुक्त हुन्छ भने नगरवासीलाई रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा सूचना तथा विज्ञापन प्रकाशन प्रशारण गरेर सचेत गराउन उपयुक्त हुन्छ । धेरै ठाउँमा टोलविकास संस्थाहरु छन् । अहिले राखिएका सूचनाबोर्डहरु पनि तिनै संस्था तथा विकास समितिको नाममा राखिएका छन् । तर कुनै एक दुईओटा वडा तथा टोलले आफ्नो क्षेत्रमा पर्ने ठाउँमा मात्र नदी सफा राखेर स्वच्छ सेतीको कल्पना गर्न सकिँदैन । धेरै माथितीर अड्किएका र बगेर आउने फोहोरले नदीलाई दुषित बनाइराख्छन् । त्यसैले माथिदेखि तलसम्म सबैको सहकार्य र समन्वय आवश्यक छ । एउटा एउटा वडालाई वातावरणमैत्री वडाको रुपमा विकास गर्नुभन्दा पनि समग्र नगरलाई नै वातावरणमैत्री नगरको रुपमा विकास गर्दा राम्रो होला । कसैमा पनि, मैले सेतीमा नै लगेर फाहोर फाल्नुपर्छ भन्ने मानसिकता पक्कै पनि छैन होला । फोहोर उठाएर लगिदिने निकाय नभएर, अथवा हुँदाहुँदै पनि समयमा फोहोर नलगिदिएर वा अन्य के कारणले गर्दा मानिसले नदीमा फोहोर फालिरहेका छन् त ? भन्ने कुरा पहिल्याउन सके र त्यसको संवोधन गर्न सके पनि फोहोर हुने क्रमलाई रोक्न सकिन्छ । धेरै मान्छेले फोहोर फाल्ने नबुझेरै हो । उनीहरुलाई राम्रोसँग बुझाउन सक्ने हो भने पनि नदी धेरै सफा रहन्छ । आफ्नै टोलबाट बग्ने नदीको, सफा हुँदाका फाइदा तथा राम्रा पक्षहरु र फोहोर हुँदा हुने हानीबारे राम्रोसँग जानकारी भए कसले पो फाहोर फाल्थ्यो होला र ? मुख्य समस्या भनेको, आम मानिसमा – त्यत्रो गहिरो खाेँचमा मैले अलिकति फोहोर फाल्दैमा के नै फरक पर्छ र भन्ने मानसिकता हावी हुनु हो । समाजका सचेत नागरिकले, नबुझेका मानीसहरुको त्यस्तो सोचाइमा परिवर्तन ल्याउन सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ । नयाँ आर्थिक वर्षको प्रारम्भ भर्खरै भएको छ । पोखरा उपमहानगरपालीकाले सेती संरक्षणको लागी छुट्टै नयाँ योजना बनाएर लागु गर्ने हो भने सुनमा सुगन्ध हुनेछ । सञ्चार माध्यमहरुले सामाजिक उत्तरदायीत्व ( कर्पाेरेट सोसल रेस्पोनसिबिलिटी ) अन्तर्गत गर्ने कार्यहरुमा सेती संरक्षणका लागी सूचना तथा विज्ञापनहरु निशुल्क प्रकाशन प्रसारण गरेर सहयोग गर्न सक्नेछन् । अनि, फोहोर भइसकेपछि सफाई गर्ने चाहना भयो भने पनि संभव नहुने जनसहभागीता, बरु फोहोर हुनै नदिने कार्यमा संभव छ । तर, एक्लैले र कुनै एउटा मात्र काम गरेर यो संभव हुँदैन भन्ने कुरा सबैले बुझ्नुपर्छ । एउटै कामले पनि फोहोर थोरै त घट्ला तर यो दीर्घकालीन समाधान होइन । सबैलाई कुरा बुझाएर योजनाबद्ध रुपमा काम गरिनु आवश्यक छ । तर फेरि कतिपय अवस्थामा योजनाहरु बने पनि उचीत समन्वयको अभावमा ती योजनाहरुको प्रभावकारीता खासै देखिँदैन । तसर्थ, कुनै एउटा निकायले समन्वयकारी भूमिका निर्वाह गर्ने र सबै कार्यहरु तालमेल मिलाएर गर्ने हो भने यो काम कत्तिपनि गाह्रो हुनेछैन ।

तर, अरुले नदेख्नेगरि फोहोर फालेर, फोहोरलाई छोपेर वा सतहका फोहोरमात्र सफा गरेर नदी वा वातावरण स्वच्छ र सफा हुँदै हुँदैन । पुनः स्मरण गराऔँ – थोरै बढ्दै गएर नै धेरै हुने हो । सेतीमा भएको थोरै फोहोरलाई अहिलेदेखिनै ब्यवस्थापन गरेर धेरै फोहोर हुनबाट रोकौँ र सफाई अभियान चलाउनुपर्ने अवस्थासम्म नपुगौँ । किनपनि यसो भनिएको हो भने – यदि सेती नदी धेरै प्रदुषित भएर सफाइ अभियाननै चलाउनुपर्ने अवस्थासम्म पुग्यो भने, भूबनोटले गर्दा, सेतीलाई सुरुको अवस्थामा ल्याउने काम लगभग असंभव नै हुने कुरा सजिलै देख्न सकिन्छ । त्यो बेला आयो भने हाम्रा सन्ततीले पक्कै पनि हामीलाई धिक्कार्नेछन् । त्यसैले दूरदर्शी बनौँ । अहिलेबाट नै सेतीमा फोहोर फाल्ने काम बन्द गरौँ र अरुलाई पनि त्यसो गर्न अभिप्रेरित गरौँ ।

aacharyaaaditya@gmail.com

२०७२ साल साउन ११ गते आदर्श समाज दैनिक मा प्रकाशित   Click: अझै गरौँ ; अन्यत्र पनि गरौँ   [epaper, page-2]

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s