गाइने बन्ने लक्ष

मान्छेका लक्षहरू के के हुन्छन् होला ? डाक्टर, पाइलट, इन्जिनियर, नर्स, नेता, वैज्ञानिक, पत्रकार, प्राध्यापक …… । लेख्दै जाने हो भने यो सूची कतिसम्म लम्बिदो हो थाहा छैन । किनकि प्रत्येक मान्छेका अा अाफ्नै फरकफरक लक्षहरू हुन्छन् । यी त सबैले सुनेका बुनेका लक्षहरु होलान् ।

स्कूल पढ्दा ‘मेरो जीवनको लक्ष’ भन्ने विषयमा हरेक विद्यार्थीले कुनै कक्षामा निबन्ध लेख्नै पर्थ्यो । अहिले पनि पर्छ होला ।

मैले पनि ‘मेरो जीवनको लक्ष’ भन्ने विषयमा अवश्य पनि निबन्ध लेखें “हुँला” । याद छैन त्यो निबन्धमा मैले मेरो लक्ष के लेखेँ भनेर । तर यो चाहिँ याद छ कि मैले मेरो लक्षमा डाक्टर चाहिँ कहिले पनि लेखिनँ । डाक्टर पेशालाई अपमान गरेको नठानियोस,  प्रत्येक पेशाप्रति मेरो उत्तिकै सम्मान छ । डाक्टर बन्ने लक्ष नलिनुमा मेरा आफ्नै कारणहरु छन् । तर फेरि लक्ष के चाहिँ थियो त भन्ने कुरो चाहिँ मलाई अहिले पनि याद छैन ।

धेरैलाई जस्तै  लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढ्दा मलाई पनि साहित्यकार बनूँ कि जस्तो लाग्थ्यो । अरनिकोको जीवनी पढ्दा कलाकार बनूँ कि जस्तो लाग्थ्यो । नेल्सन् मण्डेला,  अब्राहम लिंकनको जीवनी पढ्दा प्रधानमन्त्री /राष्ट्रपति बनूँ कि जस्तो पनि लाग्थ्यो ।  राइट दाजुभाई, न्युटनको जीवनी पढ्दा वैज्ञानिक बनूँ कि जस्तो पनि लाग्थ्यो ।

राम्रो शिक्षक बनूँ कि जस्तो लाग्न त कसैको जीवनी पढ्नु पर्दैनथ्यो । कुनै एउटा जाती शिक्षकले पढाउँदै गर्दा अर्को छुच्चो शिक्षकलाई सम्झिए पुग्थ्यो । फ्लोरेन्स नाइटिंगेलको जीवनी पढेर नर्स बनूँ कि जस्तो चाहि लागेन । नर्स बन्ने त केटिले हो भन्ने मात्र थाहा थियो ।

बच्चा बेलामा माथिको जस्तो, लक्षहरु बदलिनु त सामान्य नै होला । ती बाहेक, अरु धेरै थोक बनूँ कि जस्तो पनि लाग्यो होला । सबै अहिले याद छैन ।

तर जिन्दगीमा एक पटक एउटा यस्तो लक्ष पनि लिईयो – गाइने बन्ने । थाहा छैन यस्तो लक्ष अरुको पनि हुन्थ्यो कि हुदैनथ्यो ।

त्यतिबेला बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट [अहिले बीबीसी मिडिया एक्सन ]को उत्पादनमा एउटा रेडियो नाटक शृंखला प्रशारण हुन्थ्यो – कथा मिठो सारंगीको, जसमा दिलु गन्धर्व नामको मुख्य पात्र सारंगी बजाउँदै गाउँगाउँ डुल्थ्यो । जता पुगे पनि उसको काम सारंगी बजाउंदै गीत गाउने, मान्छेहरुसंग रमाइलो गर्ने हुन्थ्यो । मान्छेहरु पनि गीत सुनेर खुशी हुन्थे, खुब रमाउँथे । दिनेहरुले उसलाई पैसा, खानेकुरा दिन्थे । अनि कसैले आफ्नै घरमा बस्न आग्रह गर्थे । बास बसेको घरमा दुःख सुखका कुराहरु पनि गर्थे । कति रमाइलो जिन्दगी; गीत गाउँदै सारंगीको मिठो धून बजायो, नयाँ नयाँ ठाउमा घुम्यो, नयाँ नयाँ मान्छेहरुसँग चिनजान, कुराकानी गर्यो, तिनीहरुले नै जे दिन्छन त्यहि खायो, चिन्दै नचिनेको मान्छेको घरमा गएर बास माग्यो , एकछिन गफगाफ गरेपछि चिनजान पनि भैहाल्ने, अनि दुःख सुखका कुरा पनि हुने । भोलिपल्ट उठ्यो, त्यसैगरी हिँड्यो, कहिल्यै नटुंगिने यात्रा …..  । आज यहाँ पुग्नै पर्छ भन्ने बाध्यता पनि छैन । सारंगी बजाउँदै हिँड्यो, जहाँ पुगीन्छ त्यतै बास माग्यो, बस्यो । मान्छे मिजासिला नै रै’छन भने दु:ख सुख का कुरा गर्यो, नभए सुतिदियो । अनि अर्को दिन बिहानै उठ्यो, आफ्नो बाटो लाग्यो ।।

कतै पुग्नै पर्छ भन्ने बाध्यता नहुनु, जता मन लाग्यो उतै जाने स्वतन्त्रता, नयाँ ठाउँ र नयाँ मान्छे सँग परिचय गर्न पाइनु सँगसँगै, मलाई गाइने बन्न मन लगाउने अर्को कुरा थियो – सारंगीको धून । दिलुले सारंगी बजाउँदा कस्तो कस्तो [रमाइलो/आनन्दको] अनुभूति हुन्थ्यो कि, त्यो अनुभूतिलार्इ कसरि लेख्न मिल्छ नै थाह छैन । कार्यक्रम सुन्दै गर्दा, दिलुले जसरि सारंगी बजाउन जाने देखि त, म पनि एउटा सारंगी किनेर त्यसैगरी बजाउँदै अहिल्यै हिँडीहालुँ जस्तो लाग्थ्यो । अनि कार्यक्रममा पठाएको एउटा पत्रमा लेखिदिएको थिएँ – “दिलुको सारंगीको धून सुन्दा, अनि दैनिकी देख्दा त, मलाई पनि त्यसैगरी सारंगी बजाउंदै, डुल्दै हिडूँ हिडूँ जस्तो लाग्छ । तर न त मसंँग सारंगी नै छ, भए पनि न त मलाई बजाउनै आउँछ !! “  भनेर …. ।

तर गाइने बन्ने लक्ष पनि उही कलाकार, नेता, साहित्यकार, शिक्षक, वैज्ञानिक बन्ने लक्ष जस्तै भयो । नाटकशृंखला सकिएपछि गाइने बन्ने लक्ष पनि हरायो क्यारे । त्यसपछि अरु नै केहि बन्ने लक्ष सुरु भयो होला । यद्दपी सारंगी बजाउने रहर चाहिँ छँदैछ; गाइने बनेर डुल्दै हिड्ने लक्ष हराईसके पनि … !!!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s