एक हप्ताको यात्राबृतान्त

बसिरहेको नान्सी भन्ने ठाउँबाट दुई घण्टा बसको यात्रा गरेपछि लक्जेमबर्ग भन्ने फुच्चे देशको राजधानी लक्जेमबर्ग सिटी पुगिन्छ। पूरै देशको क्षेत्रफल लगभग सिन्धुली जिल्लाको जत्तिनै, अनि राजधानी लक्जेमबर्ग सिटीको क्षेत्रफल काठमाडौं जिल्लाको जत्तिनै छ। ‘लक्जेमबर्ग जाँदैछु’ भन्दा होस्टलको एउटै फ्ल्याटमा बस्ने फ्रान्सका र फ्रान्सेली भाषा बाेल्ने अन्य साथीहरूले बुझेनन्। फ्रान्समा त्यसलाई ‘लुक्सेम्बुर्घ’ भन्दारहेछन्।

नोभेम्बर २३ देखि ३० सम्म एक हप्ता कुनै पनि कक्षा नभएकाेले वरिपरि डुलाैँ न त भन्ने लाग्याे। पढाइ सक्काएर यहाँबाट हिँडेपछि डुल्न भनेर यहाँ फेरि कहिले आइएला र!

लक्जेमबर्ग सिटी तुलनात्मक रूपमा महँगाे ठाउँ। त्यसैले त्यहाँ धेरै समय, विशेषत: रात, बिताउनु फाइदाजनक हाेइन। याेजना थियाे – पहिलाे दिन बिहानै जाने, एक रात बस्ने, दाेस्राे दिन बेलुका नेदरल्यान्डस् काे राजधानी आमस्टरड्याम तिर लाग्ने।

***

पहिलाे दिन – बिहानैकाे बस चढेपछि १० बजेतिर लक्जेमबर्ग सिटी पुगियाे। सोचेभन्दा अलि बढी नै जाडो भैसकेछ बाहिरतिर। अनि धेरै नहिडेको पनि अलि धेरै नै समय भएकोले होला, असाध्यै थकाई लाग्यो।

This slideshow requires JavaScript.

मेरो लागि इतिहास, संग्रहालय, चर्च, सुपरमार्केटहरु भन्दा प्रकृति, भूदृश्य, स्ट्रिट मार्केटहरु बढी प्रथामिकतामा पर्ने भएकाले धेरैजसो समय बाहिरै, सडकहरुतिरै बित्छ। पहिलो दिन त्यसै गरि बित्यो। दोश्रो दिन, मिलेसम्म सेङ्गेन गाउँ पनि पुग्ने योजना थियो। अनि आमस्टरड्याम जाने बस चढ्न बेलुकी साँढे चार बजे बस स्टेसनमा पुग्नु पर्ने थियो। सेङ्गेन लक्जेमबर्गको एउटा सानो गाउँ हो जसको नामबाट नै सेङ्गेन सहमतिको नामाकरण भएको हो जस अनुसार २६ ओटा देशहरु मध्ये कुनै एउटाको भिसाले जुनसुकै देशमा पनि जान पाइन्छ। राजधानीबाट उक्त गाउँ पुग्न बसमा करिब एक घण्टा लाग्ने रहेछ। सेङ्गेन जाने बसको समयतालिका अनुसार साढे चार बजेको बस चढ्न लगभग स्टेसन आइपुगीने देखिएपछी सेङ्गेन पनि जाने निधो गरियो।

सेङ्गेनबाट फर्किने बेलामा बसलाई अलि लामो समय कुर्नु पर्‍यो। बस पर्खिरहेको बेलामा दुइटा साना केटाहरु आए।साइकलमा भएको एउटा चाहिँ एकै छिनपछि कुन्नि कता गयो। अर्कोलाई अंग्रेजी बोल्छ कि भनेर सोधेको, बोल्दिन भन्यो। नाम र उमेर सम्म चाहिँ भन्यो। हाँसेर आफ्नै मोबाइल चलाउँदै बस्यो। केहीबेर पछी, के सोच्यो कुन्नि – मलाई एउटा चुइगम दियो। ऊ आफूपनि चुइगम चपाईरहेको थियो। ‘Thank you. You are a good boy’ लाई गुगलबाट अनुवाद गरेँ र उसलाई देखाइदिएँ। मुस्कुरायो। केहीबेर पछी ‘फोटो खिचौं?’ भनेर मोबाइल सोझ्याएँ।हाँसेर पोज दियो। करिब २० मिनेट सँगै बस पर्ख्यो, अनि ५ – ६ मिनेट पर पुगेर झर्‍यो। सायद बस चढ्न मन लागेको थियो र होला कि !

20191124_141248
Somewhere near Schengen

बोलेकै नबुझे पनि त्यस्सै माया लाग्ने खै कस्ता सम्बन्ध हुन्छन् कहिलेकाहिँ ! बेलुकी घरमा सबै कुरा भन्यो होला। गालि पो खायो कि अपरिचित मान्छे सँग किन त्यस्तो गरेको भनेर ! १२ बर्ष भएँ भन्थ्यो।

फर्केर लक्जेमबर्ग सिटी पुगेपछि आमस्टरड्याम जाने बस चढ्न अर्को बस स्टेसन जानुपर्ने थियो। बस भेट्टाउनको लागि साँढे चार बजे अगाडि पुर्‍याउने बसहरु रहेनछन्। बरु दौड्यो भने समयमै पुगीन्छ भन्ने सोचेर १५ मिनेट जति दौडिएँ र ठीक साँढे चार बजे त्यहाँ पुगें। १५  मिनेट जति पर्खंदा पनि बस नआएपछि यसो टिकट हेरें। अनि बल्ल थाहा भयो मैले काटेको टिकट चार बजेको लागि रहेछ। थाहा छैन कसरि हो कुन्नि बिहानै देखि ‘साढे चार बजे बस चढ्न पुग्नुपर्नेछ’ भन्ने मात्र सोचिरहेको थिएँ। त्यसैले त बस हिँडिसकेको १५ मिनेट पछी, ठीक समयमा पुग्नको लागि भनेर १५ मिनेट दौडेको थिएँ।

यसो सोचविचार गरेपछि रातिको अर्को बसको टिकट काटेँ भोलिपल्ट बिहानै आमस्टरड्याम पुग्नेगरी।

***

नेदरल्यान्डस् मा तीन दिन बिताउने योजना थियो। राजधानी आमस्टरड्यामइरास्मसको जन्मस्थान रोटरड्याम चाहिँ पुग्ने नै योजना थियो। बाँकी – कता पुगीन्छ हेरौं। अगाडी नै बुक गरेपनि अथवा उहिँ होस्टलमै पुगेर लिएपनि होस्टलको मूल्य खासै फरक पर्दैन। ट्रेनको टिकट पनि त्यस्तै त्यस्तै हो। त्यसैले कुनै निश्चित योजना नबनाई, जहाँ पुगिन्छ त्यतै पुगेपछि बिचार गरौंला भन्ने सोच थियो।

आमस्टरड्याम कार्ड भएपछि सार्वजनिक यातायात र प्रायजसो सबै पर्यटकिय ठाउँमा प्रवेश पाइने भएकोले आम्स्टर्ड्याम कार्ड किनियो। चौबिस घन्टासम्म बस, ट्राम, मेट्रो चढेर जताजता पुगे पनि भयो, जुनजुन ठाउँ जान मन लाग्छ गयो, त्यहि कार्ड देखायो। एक घन्टा डुङ्गा पनि चढ्न पाइने। पहिलोपटक प्रयोग गरेको २४ घन्टासम्म प्रयोग गर्न मिल्ने भएकोले गएको दिन साँझतिर एक घन्टा डुङ्गा चढियो ताकि भोलिपल्टको पनि साँझसम्म कार्ड प्रयोग गर्न मिलोस्।

भोलिपल्ट दिनभरि डुलियो। Van Gogh Museum, Tulip Museum, चिडियाखाना, आदि आदि। बेलुकि ४ बजेतिर स्थानीय गाइडसँग ‘रेड लाइट एरिया’को फ्री वाकिङ् टुरमा जाने योजना भएकोले चिडियाखानाबाट अलि हतार गरेर फर्किनु पर्‍यो।

बेश्याबृत्ति कानूनी रुपमै, ब्यवस्थितसाथ सँचालन भएपनि भित्री पाटो बाहिर देखिने रमझमभन्दा केही फरक भएको कुरा गाइडले बताए। यद्दपि कानूनि मान्यता पाएपछि उक्त पेशामा संलग्न हुनेहरुले सुरक्षित महसुस चाहिँ गरेका कुरा बताए। दुर्ब्यवहार भयो भने आफ्नै कोठाभित्रको एउटा बटन थिचेर सिधै प्रहरीलाई जानकारी गराउन सक्ने र सहयोगको लागि प्रहरी केही सेकन्ड देखि १-२ मिनेट भित्रमा आइपुग्ने रहेछन्। रमाइलो, ठट्टा, गम्भिर सबैखाले कुरा गर्ने गाइड प्रायजसो सबै शहरमा मजाका हुन्छन्। दुई घन्टा रमाइलोसँग हिँड्दै बित्यो। गाइडले मुख्य ठाउँहरु देखाउने र रोकिन मिल्ने खुला ठाउँमा मात्र रोकिएर जानकारीहरु दिने भएकाले, त्यसपछि बेलुकिको केही समय पनि त्यतै डुलेर बिताइयो।

This slideshow requires JavaScript.

***

अर्को दिन बिहान रोटरड्याम जाने जाने योजना बन्यो। हेग (हाम्रोतिर चर्चा चल्ने गरेको अन्तरास्ट्रीय अदालत भएको ठाउँ) बाटोमा पर्ने रैछ। अनि आम्स्टर्ड्याम बाट रोटरड्याम जान १७ युरो लाग्ने रहेछ भने आम्स्टर्ड्याम बाट हेग जान १३ युरो अनि हेग बाट रोटरड्याम जान ४ युरो जति। त्यसैले बाटोमा पर्ने हेग पनि हेरौँ न त भन्ने लाग्यो।  भ्याए दिनभरि डुलेर बेलुकि रोटरड्याम जाने, नभ्याए बेलुकि त्यतै बसेर भोलिपल्ट बिहानै गएर दिनभरि रोटरड्याम डुलौँला भन्ने लाग्यो। एक्लै डुल्नुको मजा यहि त हो – कता लाग्ने मुड चल्छ त्यतै!

20191127_123514
Den Haag (The Hague)

हेग त गैयो, तर डुलेर बेलुकिपख रोटरड्याम जानको लागि ट्रेन् स्टेसन फर्केपछि, त्यहिँ भित्रै पैसा तिर्ने डेबिटकार्ड (पैसा निकाल्न पनि मिल्ने ए टि एम जस्तै कार्ड) हरायो। पर्याप्त पैसा निकालेर बोकेको थिइनँ। जतापनि प्राय: कार्डले नै तिर्न मिल्ने भएपछि पैसा किन बोकिरहनु भन्ने सोचेर। अर्को डेबिट कार्ड कहिल्यै प्रयोग नगरेकोले पिन नम्बर नै बिर्सिइएछ। खातामा पैसा त चाहिनेजति छ, तर आफूसँग भएको पैसा अरुलाई दिने माध्यम नै छैन।

थाह छैन कहिलेदेखि यो सिपको बिकास भएछ – तर त्यस्तो बेलामा कहिल्यै अत्यास चाहिँ लागेन। किनकि आत्तिएर केहि टर्नेवाला छैन। अनि साँच्चै आपत पर्‍यो भने सहयोग गर्ने कोहि न कोहि त भेटिन्छ भन्ने विस्वास लाग्छ; एउटै मानविय संवेदना त हो। सायद अनपेक्षित रुपमा एउटा रात सडकमै काटिसकेकोले पनि होला, एक रात सडकमै बस्न परेछ भने पनि मरिँदैन भन्ने लाग्यो। अब गर्ने चाहिँ के त भनेर सोचेँ। सडकमै रात काट्ने सामर्थ्य भएपनि त्यसो गर्नु नेदरल्यान्डस् मा कानुन बिपरित हो भन्ने कतै पढेको थिएँ। त्यसैले प्रहरिको खोजी गरेँ। यस्तो अवस्थामा छु, सल्लाह/सहयोग माग्न आएको, र केहि लागेन भने अबैधानिक भए पनि आज राति सडक तिर भेटिनँ सक्छु भनेर पहिल्यै खबर गर्न आएको भनेर बताएँ। यदि कसैले उसको ए टि एम् बाट पैसा निकालेर दिन सक्ने भए आफ्नो खातामा भएको पैसा उसको खातामा पठाइदिन सक्छु भनेँ। उत्तम बिकल्प त्यहि थियो। एउटा प्रहरिले पैसा साट्ने ठाउँ (Money exchange) मा मिल्नसक्छ भनेर त्यहाँ पुर्‍याइदियो।

खातामा पठाइदिएर होइन कि, कसैले Western Union मार्फत पठाइदियो भने केहिबेरमै उनीहरुले पैसा दिन सक्ने कुरा बताए। आफैँले Western Union को खाता बनाउन लाग्यो भने धेरै समय लाग्न सक्ने र उनिहरुको अफिस पनि बन्द हुने बेला हुनलागिसकेकोले साथिहरुलाई सोधेँ उनिहरुले पठाइदिन सक्छन् कि भनेर

सचिन भाइ, जोसँग करिब ३ महिना अगाडि केबल फेसबुकमा मात्र चिनजान भएको थियो, र जसलाई पहिलोपल्ट भेट्न भोलिपल्ट गेन्ट (बेल्जियम) जाँदै थिएँ, उसले कति सजिलै मागेजति पैसा पठाइदियो। भनेँ नि – कुनै सम्बन्धहरु खै कस्ता कस्ता हुन्छन्, त्यस्सै बिस्वास लाग्ने, त्यस्सै माया लाग्ने, कहिल्यै नभेटेको भए पनि अथवा पहिलोपटक भेट्नेबित्तिकै पनि। पोहोर सँगै पढेका र अहिले सँगै पढ्ने साथिहरुले पनि पठाइदिए। र त्यो रात नेदरल्यान्डस् मा अबैधानिक बन्नु परेन!

***

भोलिपल्ट बिहान रोटर्ड्याम गएँ। तर पानी परेकोले एक्लै डुलिरहन अल्छि लाग्यो। केही समय खाना खाने ठाउँतिर गएर बिताइदिएँ। अनि करिब २ घन्टाको फ्री वाकिङ् टुरमा मा मुख्य मुख्य ठाउँहरु गाइडसँग डुलियो।

This slideshow requires JavaScript.

हिजो पैसा भए त भैहाल्यो भन्ने लागेको थियो, आज पैसा भएर पनि सुख छैन। कुनै कुनै ठाउँमा टिकट बेच्ने मेसिनले पैसा लिन मान्दैन, उसलाई कार्डनै चाहिन्छ। टिकट काट्दै गरेका मान्छेलाई – म तपाइँलाई पैसा दिन्छु, मलाई पनि एउटा टिकट काट्दिनुस् न भन्दै काम चलाइयो। र बेलुकि पुगियो प्रीय सचिन भाइको कोठामा।

अर्को दिन १२ बजेसम्मै सुतेँ। बेलुकिपख एकछिन डुलेँ। अर्को एकजना नेपाली, दिपेश दाइसँग पनि भेट र रमाइलो कुराकानी भयो। गेन्ट डुल्न भन्दापनि सचिन भाइ भएकोले मात्रै गएको थिएँ – नयाँ ठाउँमा पुगौँ न त अवसर मिलेको बेलामा भनेर। भोलिपल्ट दिउँसो एकछिन सँगै डुल्यौँ। अनि छुट्टियौँ। बाँकि रहेको ५-६ घन्टा राजधानी ब्रसेल्स् वरिपरि डुलेर बेलुकि बस चढेँ, करिब मध्यराततिर घर पुग्नेगरि!

20191130_155055
Brussels

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s