गजल

नजरैले  यो हृदय, हरेपछि मेरो के लाग्छ !!

चखेवीले जस्तै माया, गरेपछि मेरो के लाग्छ !!

थाहा छैन मेरै मुटु, खै कसरि उर्वर देखिन् !!

यसै सामु प्रितिबिज, छरेपछि मेरो के लाग्छ !!

अधरमा मुस्कान, र रातो गुलाफ बोकी आइन् !!

प्रणयको दिवसमै, परेपछि मेरो के लाग्छ !!

थाहा छ? उनले पनि, गज़लमै प्रस्ताब कोरिन् !!

शेर शेरमा प्रणय, भरेपछि मेरो के लाग्छ !!

पागलै पो भएँ क्याहो, थाहै नपाई टुक्रिएर !!

आधा मुटु उनीतिरै, सरेपछि मेरो के लाग्छ !!

बाचा गर्नु कता कता, हतार गर्दै जानाजानी !!

सगरका तारा आफैँ, झरेपछि मेरो के लाग्छ !!

2013, February 12

गजल

Aditya A.

साथीसंगी गाउँबेशी, मेलापात गर्दा हुनन्

पाखाभरि बाँसुरिका, धूनहरु छर्दा हुनन्

बनकुञ्ज भित्र हाँस्दै, नाच्दै उषाकिरणमा

डाँफे मुनाल कालिज, र मयुर चर्दा हुनन्

बेशीतिर टारी खेतमा, मकै छर्ने बेला हुँदा

हाली दाइ हलो जुवा, बोकी बेशी झर्दा हुनन्

समुज्वल देश अनि, भविष्यको कल्पनामा

स्कुले ती भाइबहिनी, खोला खोल्सा तर्दा हुनन्

भोलि भेट्ने बाचा गर्दै, सुर्य लुकी गएपछि

बेशी झर्या सँगीका हुल, उकालीमा सर्दा हुनन्

सुर्य बास बसेपछि, क्षितिज पारि रातमा

चन्द्रमाका रश्मीहरु, अन्धकार हर्दा हुनन्

गजल

Aditya A.

डाँफेले त अझै पनि शान्ति गीत गा’को छैन..

गुराँसले अझै पनि मुस्कुराउन पा’को छैन..

लोकतन्त्र, गणतन्त्र जे-जे तन्त्र आए पनि

खै, नेपाली मुहारमा खुसियाली छा’को छैन…

नयाँ नेपाल बनाउने हरु धेरै आए, तर 

नेपालीको मनको घाउ अझै निको भा’को छैन… 

समानताका कुराहरु पनि उठ्न थाले भन्थे

तर अझै गरिबले छाके मानो खा’को छैन…

थाहा छैन कस्तो नयाँ नेपाल बनाउने हुन् 

धेरै भयो रातभरी निन्द्रा पनि ला’को छैन …

गजल

Aditya A.

बिहानीको क्षितिज पनि, किन कालो कालो देख्छु !!

नेपालीको मनको घाउ, अझै पनि आलो देख्छु !!

पाउनै पर्छ प्रत्येकले, गाँस, बास र कपास

भन्थे, गरिबको आङमा, च्यातिएकै टालो देख्छु !!

देख्छु कतै गगनचुम्बी, महलमा मोजमस्ती

गाउँ बस्तीका झुप्रामा चाहिँ, माकुराको जालो देख्छु !!

रैयाको’नि अभाव देख्छु, कसैलाई कतै, कतै-

सुनकै सिक्री गलाभरी, र हातमा बालो देख्छु !!

घुमिफिरी सबको पालो, कुमालेको चक्र जस्तै

आउँछ भन्थे, आएन खै, धनकै मात्र पालो देख्छु !!

किन यत्रो विभेद हो?, गरिब र धनि बीचमा

देख्छु कतै फालाफाल छ, कतै रित्तो डालो देख्छु !!