नमेटिने स्मृतिहरू

एकपटक वि पी राजमार्गमा घरधूरी सर्वेक्षण गर्न जाने अवसर मिलेको थियो । २०७२ सालको बैशाख महिनाको पहिलो हप्ता धुलिखेल देखि खुर्कोट सम्म राजमार्गको आसपासमा उक्त सर्वेक्षण को काम थियो । हुन त त्यस्तो घरधूरी सर्वेक्षणमा म पहिलो पटक जाँदै थिएँ, तर आफ्नो घर पनि त्यतै भएकोले खासै अप्ठ्यारो होला जस्तो पनि लागेन । अनि भेगीय नाता पनि लाउँदै खुलेरै कुराकानी गरियो ।

नयाँ नयाँ ठाउँमा डुल्दै घुम्दै हिंड्दा थरिथरिका मान्छेहरु भेटिनु  र थरिथरिका व्यवहारहरु भोग्नु सामान्य कुरा नै हो जुन मैले पनि भेटें, भोगें । तर ति  एउटा बुढाका कुरा र दुइटी साना बच्चिहरुको व्यवहार भने अहिलेसम्म बिर्सिन सकिएन ।

 


 

— २०७२ बैशाख ९ , भकुन्डेबेशी

बुद्द बच्चिहरु 

> नानीहरू के गरिरा’को ?

– खेलेको ।

> के खेलेको ?

– मूर्ती बनाको ।   [ उनीहरू माटो मुछेर खेल्दै थिए ]

Continue reading

बन्द

एक हुल स–साना भाइबहिनीहरु धुलेसडक छेउमा कल्याङमल्याङ गरिरहेका सुनेँ ।

“हामी पनि आज बन्द गलौँ न”— त्यही हुलबाट एक्कासि एउटा टड्कारो तोतेबोली सुनेँ, बन्दको प्रस्ताव राख्ने ।

“हो, हो, अस्तिनै दाइहेर्ले गर्या जस्तो”

सबैको समर्थन जुट्यो बन्द गर्ने कुरामा । नभन्दै आज तिनीहरु आज बन्द गर्ने निष्कर्षमा पुगे ।

“हाम्रो घरमा साइकलको पुरानो टायर छ, म लिएर आउँछु है त ।” एउटी बहिनी अघि सरिन् । “म सँग एक रुपैयाँ छ, म सलाई किनेर ल्याउँछु ।” यति भन्दै अर्काे भाइ सलाई किन्न हिँड्यो । बाँकी भएकामध्ये कोहीले ढुङ्गा बटुल्न थाले, कोही झिक्रा बटुल्न त कोही लौराहरु भाच्न थाले । यत्तिकैमा एउटाले जिज्ञासा राख्यो – “झन्डा के को बनाउने नि ?” “हो त नि ।” सबैजना मुखामुख गर्न थाले । “आ, झन्डा चाहीँ नबनाउने ।” एउटा भाइले समस्या समाधान गर्न खोज्यो । “होइन, झन्डा त बनाउनैपर्छ । बरु म पुतली बनाउन जम्मा पारेको टालाटुली लिएर आउँछु नि त ।” एउटी अर्की बहिनी यत्ति भन्दै हिडिन् । उनीहरुका यी सब गतिविधिहरु अलि पर बसेर हेरिरहेको थिएँ ।

केहीबेरमा नै साइकलको टायर लिएर बहिनी आइपुगिन् । हातमा सलाईको बट्टा बोकेर अर्को भाइ पनि आइपुग्यो । केहीबेर पछि कपडाका टुक्रा बोकेर बहिनी आइपुगिन् । तिनीहरुले भाँचेका लठ्ठीमा टालाहरु बाँधेर झन्डा बनाए । उनीहरुले केही झिक्रा र ढुङ्गाहरु बाटोमा थुपारेर राखेका थिए ।

“के गरेका तिमीहरुले ?” मैलै नजिकै गएर सोधेँ । “देख्नुभएन बन्द गर्न लागेको ?” उल्टै मलाई प्रतिप्रश्न गरे । “किन नि बन्द गर्न परेको चाहिँ ?” – फेरी सोधेँ । “अस्तिनै तपाईँहरुले चाहीँ किन गरेको नि ? तपाईँहरुले चाहीँ टायर बाल्न हुने, बन्द गर्न हुने । हामीले चाहीँ हुँदैन र ?” – उनीहरु ममाथि खनिए ।

त्यत्तिबेरै त्यहीँबाट एउटा बस गुड्यो । “यो बसले हाम्रो बन्द टेरेन, यसलाई फुटाउनुपर्छ ।” – कुनै एउटाले बोल्यो । “हो, हो” – सबै कराए । यति भन्दै मुठीभरिका ढुङ्गा बोकेर बस फुटाउने सुरमा बस पछिपछि दगुरेका तिनीहरु केहीबेरमै ओझेल परे । म चाहीँ तिनीहरुले जम्मा पारेका झिक्रा, टायर र ढुङ्गाको थुप्रो हेरेर टोलाइरहेँ ।

Photo: ekantipur.com

Photo: ekantipur.com