हावा कुरा….

नेचर खबरमा प्रकाशित, यो लिंकमा पनि उपलब्ध छ – http://naturekhabar.com/ne/archives/8505

जूनकिरीले अतिनै कचकच गर्न थाली । केहि गरिपनि बुझाउन नसकेपछि केहि दिनअघि हेलो सरकारलाई मेन्सन गर्दै ट्वीट नै लेख्नुपर्यो । कुरो के भने, मैले केहि दिनदेखि दिनको दुई खिल्ली चुरोट पिउन थालेको थिएँ । “चुरोटको धुवाँले स्वास्थ्यमा गम्भीर असर गर्छ, मुटु, कलेजो, फोक्सो, रगत के के हो के के लाई नकारात्मक असर गर्छ, चुरोट खान पाउनुहुन्न” भनेर हैरान । “ए बाबा, म काठमाडाैँको धुलोमा चोबिसै घण्टा ढुक्कसँग सास फेरेरै बस्या छु र त अहिलेसम्म ठीकठाकै छु । दिनभरीमा मैले पिउने जाबो दुई खिल्ली चुरोटले के नै असर गर्छ र भन्या” भन्ने मेरो खास कुरो ।

म चुरोटको अम्मली भने होइन । पहिलापहिला, बच्चा बेलामा बाख्रा चराउन जंगल जाँदा, सुकेको पिठौरीको पात माडेर सुर्ती बनाएर, त्यही पिठौरीको पातमा बेरेर बिँडी बनाएर तानेकोलाई अपबाद मान्ने हो भने, मैले कहिल्यै पनि बिँडी वा चुरोट खाएको, पिएको, तानेको त परै जाओस्, सल्काएको सम्म पनि छैन भन्दा हुन्छ ।

हेलो सरकारलाई लेखेको पत्र ठ्याक्कै यस्तो थियो – “डियर हेलो सरकार, हेर्नुस् न, चौबिसै घण्टा काठमाडाैँमा सास फेर्दा त म ठीकठाक छु । दिनभरिमा खाने जाबो दुई खिल्ली चुरोटलाई लिएर जूनकिरी सधैँ कचकच गरिरहन्छे । कसरी सम्झाउने होला, सुझाव पाम् न ।” “काठमाडाैँको धुलोले समेत केहि गर्न नसकेको मान्छेलाई, दिनको जम्मा दुई खिल्ली चुरोटले केहि असर गर्दैन, धेरै कचकच नगर्नु…” भन्दै हेलो सरकारले कम्तीमा, जूनकिरीलाई एउटा पत्र काटिदिन्छ कि भन्ने कत्रो आश थियो । तर अहँ, हेलो सरकारबाट पनि केहि माखो मरेन । सरकारलाई समेत गुहार्न पुगियो हैन? भन्दै उल्टै घरमा रडाको बढ्यो ।

अघिनै भनिसकेँ म बिँडी चुरोटको अम्मली होइन । तर कुरो के भने, सरकारले केहि महिनाअघि एउटा निर्णय गरेपछि मैले पनि, जिन्दगीमा केहि नयाँ अनुभव पनि लिउँ न त, मौका यहि हो भन्ने ठानेर दिनको दुई खिल्ली चुरोट पिउने निर्णय गरेको हो । सरकारको निर्णय के भनेयदि काठमाडाैँको धुलो धुवाँले गर्दा कुनै रोग लागेमा उपचार खर्च सरकारले बेहोर्नेछअनि मनमनै सोचेँ – यदि धुलो धुवाँकै कारणले कुनै रोग लागेमा सरकारले उपचार गरिदिने भएपछि जीवनमा नयाँ अनुभव पनि लिइहालूँ न त । धुवाँकै कारण केहि भएछ भने, यो चुरोटको धुवाँले हो कि काठमाडाैँको हावाको धुवाँले हो भनेर कसलाई के थाहा ? उक्त रोग हावामा भएको प्रदूषणकै कारणले हो भनेर डाक्टरले प्रमाणीत गर्नुपर्ने भएपछि चाहिँ अलि संकोच लागेको थियो तर ती मुला डाक्टरलाई पनि के थाहा मेरो फोक्सोभित्रको धुवाँ चुरोटको हो कि काठमाडाैँको हावाको हो भनेर भन्ने सोचेर ढुक्क भएँ । डाक्टर अलि चलाखै रैछ भने, यस्सो कुरा मिलाउँला नि, कति नै लाग्ला र भन्ने लाग्यो । अनि त्यही दिनदेखि हो मैले दिनमा दुई खिल्ली चुरोट पिउने निर्णय गरेको । तर जूनकिरीको कचकचले हैरान ।

केहि दिनदेखि वातावरणकर्मी भनाउँदाहरु पनि खुब तातेका छन् । जाडोको बेला तात्नु त राम्रै कुरा हो, तर यो कागजमा बल्ड्यांग्रे अक्षरमा कुन्नी के के लेखेर चाहिँ किन दुनियाँलाई देखाउँदै हिँडेका होलान् । त्यसले हावामा भएको प्रदूषण कसरी घटाउँछ भनेर अहिलेसम्म बुझ्या भए मार्दिनु । बरु पोहोरपरार हाम्रा स्वास्थ्यमन्त्रीज्यूले जस्तो यसो पानी सानी छर्केर सडक बढारेको भए केहि हुँदो हो । तर खै, हाम्रा कुरा कसले सुनीदिने र ?
सबका सब जान्नेसुन्ने आजकल त । प्रदुषणको तह सरकारले तोकेको मापदण्डभन्दा धेरै गुणा बढि हुँदा पनि सरकारले केहि गर्न सकेन भनेर कोकोहोलो छ । जूनकिरीले अस्ती घरमै एक लेक्चर दिईहाली । “बाहिर हिँड्दा मास्क लगाउन कहिल्यै नभुल्नु, म घरमा नभएको बेला केटाकेटीलाई धेरै बाहिरतिर डुल्न नदिनु, मर्निगं वाक स्वाक गर्नु पर्दैन, बिहान प्रदूषणकाे मात्रा धेरै हुन्छ…,” के के हो के के । अस्ति छोरोलाई अस्पताल लिएर हिँडेकी थिई, हावा राम्रो छैन भनेर मास्क लगाइदिइछे । डेढ वर्षे छोरो निसास्सीएर झण्डै मरेको ।

प्रिय सरकार, म राम्रोसँग बुझ्छु अरुको कचकच सुन्नु पर्दाको तनाव । तपाईँलाई कस्तो भइरहेको छ भनेर सजिलै अनुमान गर्न सक्छु । त्यसैले, काठमाडाैँको प्रदूषणलाई मापदण्डभित्र राख्ने एउटा अचुक उपाय सुझाएको छु । वायु प्रदूषणको लागि सरकारी मापदण्ड २५० माइक्रोग्राम प्रति घनमिटर भनेर तोकिदिऊँ । त्यति गरिदिने हो भने हावामा प्रदुषणको मात्रा मापदण्डभन्दा कहिल्यै बढि हुन पाउँदैन । अनि न तपार्इँलाई यी वातावरणकर्मीहरुको कचकच सुन्नुपर्ने चिन्ता न मलाई जूनकिरीको लेक्चर । चुरोटबारेको जूनकिरीको कचकच बरु केहि दिनपछि म आफैँ मिलाउँला ।